स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा

न्युजिल्यान्डको वेलिंटन स्टेडियममा भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको छ।

काठमाडौँ– स्पेन पहिलोपटक फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। 

न्यु जिल्यान्ड वेलिंटन स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा नेदरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो।

अतिरिक्त समयमा सलमा पारालुएलोले गोल गरेपछि स्पेन २–१ गोलअन्तरले विजयी भएको हो। १११औँ मिनेटमा गोल गर्दै १९ वर्षीया पारालुएलो महिला विश्वकपमा स्पेनको कम उमेरकी गोलकर्तासमेत बनेकी छन्। 

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

८१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्पेनले अग्रता लिएको थियो। नेदरल्यान्ड्सले ९१औँ मिनेटमा बराबरी गोल फर्काएको थियो।