नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। सीआईबीले बिहीबार सांसद डा. सुनिलकुमार शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो।

काठमाडौँ– नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा मोरङका डा. मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार रहेको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीलाई मोरङबाट र शिल्पकारलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ। यससँगै पक्राउ पर्नेको संख्या सात पुगेको छ। सीआईबीले बिहीबार सांसद सुनिलकुमार शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्। उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ।

सांसद शर्मालाई सीआईबीको टोलीले काठमाडौँको गल्फुटारबाट पक्राउ गरेको थियो।