वैदेशिक रोजगारीका समस्या समाधानका लागि प्रस्ताव पेस गर्न प्रधानमन्त्रीको निर्देशन

वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हित रक्षा गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका समस्या समाधानको प्रस्ताव पेस गर्न निर्देशन दिएका छन्। 

शुक्रबार बिहान सिंहदरबारमा सरोकारवालाबीच भएको छलफलमा प्रधानमन्त्री दाहालले ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्न निर्देशन दिएका हुन्। 

वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हित रक्षा गर्नुपर्ने उनको भनाइ थियो। 

सो क्रममा वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत छलफल भएको थियो। यसका निम्ति साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ। 

छलफलमा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रममन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिवलगायत सहभागी थिए।