सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसद उभिएपछि राष्ट्रियसभा बैठक स्थगित

अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएपछि सत्तापक्षका सांसद पनि उभिएर बैठक अवरोध गरेका थिए। 

काठमाडौँ– राष्ट्रियसभाको शुक्रबारको बैठक स्थगित भएको छ। 

प्रतिपक्ष र सत्तापक्षका सांसदहरूले उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिनिल्सिनाले बैठक स्थगित गरेका हुन्। 

बैठकको प्रारम्भमा अध्यक्ष तिमिल्सिनाले सांसदहरूलाई दलीय आधारमा समसामयिक विषयमा बोल्न समय दिएका थिए। सो क्रममा सांसदहरूले आ–आफ्नो धारणा राखे। 

धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूची अगाडी बढाउन खोज्दा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू उभिएर विरोध जनाएका थिए। 

अध्यक्षले विरोध जनाउनाको कारणबारे बोल्न एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिए लगत्तै सत्तापक्षका सांसद पनि उभिएर बैठक अवरोध गरेका थिए। त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी गराउँदै बैठक स्थगित गरेका थिए। 

अर्को बैठक साउन ३१ गते बुधबार दिउँसो १ः०१ मा बस्नेगरी बोलाइएको छ।