सुन व्यापारी राजेश अडुकियाका छोरा विमानस्थलबाट पक्राउ

सुन व्यापारी राजेश अडुकियाका छोरा रोहनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

फाइल तस्वीर

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सुन व्यापारी राजेश अडुकियाका छोरा रोहनलाई पक्राउ गरेको छ।

अध्यागमन विभागले दिएको सूचनापछि दिल्लीबाट फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए।

“अध्यागमनले उनलाई कालोसूचीमा राखेको थियो। आज खबर गरेपछि पक्राउ गरेका हौँ,” उनले भने, “हामीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइसकेका छौँ।”

एक सय किलो सुन तस्करी प्रकरणमा प्रहरीले राजेश अडुकियालाई खोजी गरिरहेको छ। विभागले उनी यो तस्करी प्रकरणमा संलग्न भएको हुन सक्ने भन्दै निगरानी राखिरहेको थियो। 

विभागले सुन बरामद गरेसँगै अडुकिया भारत फरार भएका बताइएको छ। अनुसन्धानका क्रममा राजेशसँगै उनका छोरालाई पनि निगरानीमा राखिरहेको थियो।

रोहन पनि सुन व्यवसायी नै हुन्। शुक्रबार बिहान दिल्लीबाट फर्किएपछि उनलाई नियन्त्रणमा लिइएको हो।