मणिपुर घटनाः सभ्यतामाथिकै प्रश्न

मानव जातिले आर्टिफिसियल इन्टेलिजेन्स र 'बायो इन्जिनियरिङ'को क्षेत्रमा अविश्वसनीय विकास गर्दै गर्दा हामी मणिपुरको साक्षी बस्न अभिशप्त छौँ।

भनिन्छ, हामी छैटौँ 'मास एक्सटिंसन' (ठूलो दरमा जीव तथा प्रकृति विनाश) बाट गुज्रिरहेका छौँ। महाविनाशको यस दौरमा बर्सेनि लाखौँ प्रकारका जीव/वनस्पति विनष्ट हुन पुग्छन्। किन यस्तो हुन्छ? कारकतर्फ घोत्लिन खोज्यौँ भने विषय बरालिन सक्छ। डार्बिनको विकासवादअनुसारै ती जीव/वनस्पतिले आफ्नो अस्तित्व धान्न नसकेको मानिदिँदा आफूलाई सर्वश्रेष्ठ प्राणी दाबी गर्ने 'स्पेस' मान्छेसँग बाँकी रहन्छ।

जीवनको विकासक्रमसँगै अस्तित्वमा आएका करोडौँ जाति/प्रजातिका जीव/वनस्पति विलुप्त भएर गए। बुद्धि र विवेकको प्रयोग एवं ज्ञानको संग्रह, संश्लेषण र विस्तार गर्न सक्ने खुबीका कारण प्रकृतिमाथि आधिपत्य र एक तहको नियन्त्रण कायम गर्दै मान्छे आजको विन्दुमा आइपुगेको हो। हामी आफूलाई सर्वश्रेष्ठ ठान्छौँ र त्यही सुन्न रुचाउँछौँ पनि। तर दुर्भाग्यवश बेलाबखत समाजमा यति बीभत्स र दुर्दान्त घटनाको साक्षी बस्नुपर्छ, जसले हाम्रो सर्वश्रेष्ठताको मुकुन्डो उदांगो पारिदिन्छ। 

यति पृष्ठभूमि बाँधेर मैले दुनियाँलाई नै स्तब्ध तुल्याइरहेको कुख्यात मणिपुर–काण्डबारे चर्चा गर्न खोजेकी हुँ। अनलाइन न्युज पोर्टलमा समाचार पढ्दा, सुन्दा र हेर्दा त्यस घटनाले मेरो मनमस्तिष्क खलबल्याएको थियो। २१औँ शताब्दीमा यस्तो मध्ययुगीन बर्बरता कसरी सम्भव छ? म आफैँसँग सोध्न थालेँ। खबर असत्य ठहरियोस् भन्ने कामना गर्दै युट्युब खोलेँ। त्यहाँ देखिएको परिदृश्यले कहाली लाग्यो। धेरै बेर मस्तिष्कशून्य स्थितिमा रहेँ। त्यो शून्यावस्थाबाट फिर्दै गर्दा मभित्र एउटा भावतरंग दौडियो– “छिः, कति क्रूर र पाशविक हुन सक्छ मान्छे! दानवभन्दा पनि तल गिर्न सक्ने गरीकन।” 

दुई महिलालाई निर्वस्त्र पारी बाटोमा परेड खेलाइएको उक्त भिडियो फुटेजमा देखिन्छ। सायद, गाउँ परिक्रमा हुनुपर्छ। नग्न महिला उभिएको भागलाई भिडियोमा 'ब्लर' पारिएको छ। ती महिलालाई एउटा उन्मादी भीडले पछ्याइरहेको देखिन्छ। मानौँ, ती कुनै जात्रा वा उत्सव मनाइरहेका छन्। समाचारहरूले भन्छन्, तीमध्ये एक महिलासँग सामूहिक बलात्कार गरिएको छ। विवश र नग्न ती महिलाहरूको ठीक पछिल्तिर पुरुषहरूको लहर घम्साघम्सी गरिरहेको देखिन्छ। छेउछाउबाट उठेर आउने केही हातहरू ती नग्न कायालाई छुन, छाम्न र चिथोर्न उद्यत देखिन्छ। पुरुष मात्र नभई त्यो भीडको किनारातिर केही महिला र बालबालिका पनि भएजस्तो लाग्दछ। भनेँ नि, भयभीत र विचलित थिएँ म। मेरो भयाक्रान्त मानसिकताले त्यसलाई ठीकसँग ठम्याउन सकेन। इराक–काण्डमा मारिएका नेपालीहरूको भिडियो दृश्यझैँ त्रास दिने त्यो पाशविक कृत्यको भिडियो दोहोर्‍याएर हेर्ने र पर्गेल्ने सामर्थ्य मभित्र बाँकी रहेन। 

सूचना प्रविधिको विकासले शिक्षा र चेतनाको अभूतपूर्व विस्तारसँगै संसार साँघुरिएर 'ग्लोबल भिलेज'मा परिणत भएको दाबी गरिन्छ। हेर्दा त्यस्तै देखिन्छ पनि। तर त्यही ग्लोबल भिलेजको एउटा गौँडोमा दुई महिलालाई निर्वस्त्र पारी घुमाइन्छ। अत्यासलाग्दो कुरा यो छ कि यी तमाम कृत्य क्यामेराको सामुन्ने अन–रेकर्ड गरिन्छ। न लाज छ, न शरम, न घिन। र, त्यो घृणित अपराधलाई सामाजिक सञ्जालमा अपलोड गर्दै कानूनी राज्यको अवधारणा र मानव सभ्यताले हालसम्ममा हासिल गरेका समग्र उपलब्धिलाई हाँक दिने दुस्साहस गरिन्छ। एकातिर हामी आर्टिफिसियल इन्टेलिजेन्स र 'बायो इन्जिनियरिङ'को क्षेत्रमा भइरहेको अविश्वसनीय विकासका कारण मानव अस्तित्व नै धरापमा परिसकेको चिन्ता प्रकट गरिरहेका छौँ भने अर्कोतिर मध्ययुगीन बर्बरतालाई मात दिने मणिपुरको साक्षी बस्न अभिशप्त छौँ। यी दुवै कुरा एकै लोकमा उही समय समानान्तर घटित घटना होलान् भनी पत्याउन हम्मे पर्छ।

हो, महिलाविरुद्ध भएका बर्बरता, यातना र हिंसाको लामो इतिहास हामीले पढेका छौँ। अखबारहरूमा हामी महिला हिंसाका आङै सिरिङ पार्ने घटना पनि पढिरहेकै हुन्छौँ। तर मणिपुर घटना फरक हो। अनेकौँ हिसाबले। विकृत मानसिकताधारी कुनै पुरुषले घटाउने महिला हिंसाको आपराधिक घटनासँग मणिपुरलाई तुलना गरियो भने हामी गलत ठाउँमा पुग्नेछौँ। कसैले  फैलाएको एक पुरानो भिडियोमा आधारित 'फेक न्युज'को जगमा मणिपुर घटना घटाइएको देखिन्छ। जहाँ एउटा समुदाय कथित बलात्कारको प्रतिशोध साध्न अर्को समुदायका महिलालाई बलात्कार गर्दै तिनको नग्न परेड गराउन उद्यत हुन्छ। बलात्कार र प्रतिबलात्कारको 'मास हिस्टेरिया'मा सिंगो समाज फस्नु यस घटनाको सबैभन्दा भयावह पक्ष हो। आजको समय र चेतनाबाट हेर्दा यो पाशविकता कहाँ अटाउँछ? हामी कहाँ उभिएका रहेछौँ भनी आत्मनिरीक्षण गर्नुपर्ने विन्दुमा मानव सभ्यता आइपुगेको हो?

मणिपुर घटनामा कुन जातीय समूह पीडक थियो? पीडित कुन जातीय समूहका रहे? मणिपुरमा लामो समयदेखि जारी संघर्ष र तनावको पक्ष रहेका तीन जातीय समुदाय कुन–कुन हुन्? त्यो उद्धृत गर्नु यहाँ आवश्यक छैन। यो कुनै जातीय राजनीतिको घेरामा सीमित अपराध नभई मानव सभ्यता र चेतनाविरुद्ध गरिएको अपराध हो। त्यो 'ब्लर्ड' भिडियो कुनै आपराधिक समूहद्वारा नंग्याइएका दुई महिलाको होइन, मानव सभ्यता नै ब्लर भई नांगिएको हो, उदांगिएको हो। 

मान्छे हुनुमै लज्जाबोध गराउने र सभ्यतामाथि नै प्रश्न उठाउने यस घृणित अपराधलाई लिएर भारतीय मिडियामा भइरहेका निम्छरा बहसहरू देख्दा टीठ लाग्छ। कोही यसलाई जातीय र धार्मिक राजनीतिको रङ दिन उद्यत देखिन्छन् त, कोही कारगिल युद्ध लडेका एक योद्धाकी श्रीमतीलाई समेत निर्वस्त्र हुनबाट जोगाउन नसकिएको बिलौना गरिरहेको सुनिन्छ। के फरक पर्छ ती महिला बोर्डरमा युद्ध लडेका कुनै सिपाहीकी पत्नी हुन् वा होइनन् भन्ने कुराले? के फरक पर्छ ती महिला कुनै स्वतन्त्रता सेनानी वा शहीदको पत्नी, छोरी, बुहारी वा नातिनी हुन् वा होइनन् भन्ने कुराले? आजको समयमा जोसुकै महिलालाई निर्वस्त्र परेड खेलाइँदा र सार्वजनिक स्थलमा तिनको सामूहिक बलात्कार गरिँदा सिंगो समाज टुलुटुलु हेर्दै मौनता साध्छ भने के आफूलाई मान्छे हौँ भन्दै उभिने ठाउँ हामीसँग रहन्छ?

सार्वजनिक स्थलमा भीडले एउटा जघन्य अपराधलाई पूर्णता दिन्छ। पीडितले नै दिएको बयानलाई आधार मान्दा एउटा कारमा सवार प्रहरी टोली टुलुटुलु हेर्दै रमिते बन्छ। कुनै चटकेको चटक हेर्न बजारमा झुम्मिएको भीडझैँ सिंगो समाज त्यो अपराधकर्मको तमाशा हेर्छ। सभ्यताघाती यस निकृष्ट अपराधमाथि भद्दा राजनीति यसरी हुन्छ कि त्यहाँको महिला आयोगमा उजुरी दर्ता गराउनै ३४ दिन लाग्छ। सामाजिक सञ्जालमा भिडियो अपलोड भएपछि ७८औँ दिनमा बल्ल यो घटना प्रहरीमा दर्ता हुन्छ। सिनेमाको कुनै काल्पनिक दृश्यझैँ लाग्ने यो परिवेश हाम्रै छिमेकी देशको वास्तविकता भएको सम्झँदा अत्यास लाग्छ। भोग्नेलाई के भइरहेको होला? कल्पनै गर्न सकिन्न।

“यस्ता घटना त सैकडौँ भएका होलान्, यसमा मैले के नै गर्न सक्छु र” भन्ने आशयमा मणिपुरका मुख्यमन्त्री वीरेन सिंहको गैरजिम्मेवार अभिव्यक्तिले त्यहाँको धरातलीय यथार्थ र भयावहतालाई दर्साउँछ। किनकि, यो घटना एक्लो रहेनछ। कतै यो संगठित हिसाबले प्रयोग गरिएको एउटा औजार त थिएन भन्ने प्रश्न पनि उब्जाएको छ। दुनियाँको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा प्रचारित भारतीय शासन व्यवस्थाको यसले धज्जी उडाएको छ। त्यसभन्दा माथि यसले मानव ‘सभ्यता’माथि नै सन्देह उत्पन्न गराएको छ। 'सिभिलाइजेसन' सकाएर कतै हामी 'एनिमलाइजेसन'तिर फकिएका त हैनौँ? उसो त आम रूपमा पशुजगतमा हिंसा तिनको अनिवार्य आवश्यकताले जन्माउँछ। 

मणिपुरकै लज्जातर्फ फर्कौं। कपडाले लाज ढाकिने होइन। न त निर्वस्त्र हुँदैमा कोही बेइज्जत हुन्छ। बरु ती महिलाको कपडा उतार्ने २१औँ शताब्दीका दुःशासनहरू जति खाप लुगा लगाए पनि नढाकिने गरी सदाका निम्ति नांगिएका छन्। ती अपराधी मात्र नभई त्यो अपराधप्रति मौनता साँच्ने समाज र देश नै सर्वांग नांगिएको छ। मानवससभ्यताले नै लज्जाबोध गरिरहेको घडीमा बाँकी त तपसिलका विषय भइगए। कम्तीमा यस मानवद्रोही अपराधका सहभागी र योजनकारहरूले कठोर सजाय पाएको देख्न पाइए झिनो त्यान्द्रो बाँकी रहन्थ्यो। 

पछिल्ला पाँच मास एक्सटिंटन प्राकृतिक परिघटनामा आधारित थिए। मानवीय क्रियाकलाप प्रेरित महाविनाशको छैटौँ अध्यायमा जैविक विविधता मासिने रफ्तार कुनै पनि युगमा भन्दा हजारौँ गुणा बढिरहेको रिपोर्टहरूले बताउँछ। महाविनाशकको भूमिका निभाइरहँदा पनि हामी ‘सर्वश्रेष्ठ’ प्राणी रही नै रह्यौँ। भीमकाय डाइनासोर विलुप्त भएको पाँचौँ मास एक्सटिङ्सनपछि पनि जसोतसो यस धर्तीमा जीवनले आफ्नो बाटो पक्रियो। 

तर कामना गरौँ, मान्छे भएकामा स्वयंप्रति ग्लानि उत्पन्न हुने गरी मणिपुर नदोहोरियोस्। समाजलाई हामी त्यहाँसम्म पनि नधकेलौँ कि मानव सभ्यताको औचित्यमाथि नै प्रश्न उठोस्।