नीति नहुँदा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

कृषिमन्त्री भुसालले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्यालाई समाधान गर्न कृषिनीति बनाउने तयारी गरेको बताए।

धनुषा– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषिनीति बन्न नसक्दा कृषिक्षेत्रमा समस्या देखिएको बताएका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कृषिमन्त्री भुसालले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्यालाई समाधान गर्न कृषिनीति बनाउने तयारी गरेको बताए।

मन्त्री भुसालले तराई/मधेशमा केही समययता देखिएको सुख्खाको कारणले मारमा परेका किसानलाई बाढीले पुर्‍याएको क्षतिले थप समस्यामा पारेको बताए। उनले बाढीले किसानलाई पुर्‍याएको क्षतिका लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको उल्लेख गरे।

कृषि क्षेत्रको विकासमा सिँचाइको समस्या देखिएको बताउँदै यसमा सुधारका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या समाधान गर्ने उनको भनाइ छ।

मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको औँल्याए। उनले नेपाल सरकारले खाद्यसंकट आउन दिनका लागि सरकार सचेत रहेको  बताए।

फरक प्रसंगमा मन्त्री भुसालले ललितानिवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्याकाण्डमा पीडितहरूसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताए। उनले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालको संलग्नताको विषयमा सत्यता नरहेको बताए। यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने उनको भनाइ छ।

मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेको कारणले यसलाई लिएर पार्टीमा कुनै पनि प्रकारले समस्या नआएको बताए। पाटीमा आउने जाने हुने गरेको कारणले केही व्यक्ति जाँदैमा पाटीको गतिशीलतामा कमी नआउने उनको भनाइ छ। उनले एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरू बढेको जिकिर गरे।