सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ: प्रदीप पौडेल

कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राखेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राखेका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने बताएका हुन्।

उनले प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेको र सत्तापक्ष सरकारी संयन्त्रबाट गर्न छानबिन गर्ने पक्षमा रहेको उल्लेख गर्दै मध्यम बिन्दुको रूपमा संसदीय समितिबाट छानबिन गर्न सकिने बताए। संसदीय समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउन सक्ने उनको भनाइ छ।

सांसद पौडेलले उनले संसदीय समितिले प्राविधिक रूपमा सिआईबी लगायतका सरकारी संयन्त्रहरूलाई पनि प्रयोग गर्न सक्ने बताए। संसदीय समितिले विज्ञहरूको समिति बनाएर त्यसको सुझाव र प्रतिवेदन लिएर पनि छानबिन गर्न सक्ने उनको भनाइ छ।

“संसदका सबै दलहरू मिलेर समिति बनाउनुपर्ने आवश्यकता हो भने संसदीय समिति नै सबै दल मिलेको समिति हो। त्यसैले त्यही समितिले छानबिन गर्न सक्छ। त्यसले प्रधानमन्त्रीलाई बयानका लागि पनि बोलाउन सक्छ । गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउन सक्छ । सीआईबीले प्रधानमन्त्री, गृहमन्त्रीलाई बयान लिने आँट गर्न सक्दैन । त्यसैले संसद्को समितिले नै निगरानी गर्ने गरी, छानबिनको प्रक्रियालाई अगाडि लाने गरी प्राविधिक रूपमा सीआईबलगायत सरकारी संरचनालाई नै प्रयोग गरेर छानबिन गर्ने स्थिति बनाउन सकिन्छ,” उनले भने।

उनले संसद्भित्रबाटै सांसदहरूको उच्चस्तरीय छानबिन समिति बनाउनुको कुनै अर्थ नभएको बताए।

उनले संसद् सधैँ अवरुद्ध गरेर गाईजात्रा देखाइएको टिप्पणी गरे। संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने बताइ। उनले संसद्को अवरोध खुलाउन मुख्य रूपमा तीन शीर्ष नेताहरूको जिम्मेवारी भएको उल्लेख गरे।