परिणाम दिने गरी नियम कानून बनाउन सकेनौँ : सभामुख

सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानून बनाउन बाधा परिरहेको बताएका छन्।

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानून बनाउन बाधा परिरहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा शनिबार आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले यस्तो बताएका हुन्।

उनले केही सातादेखि संसद्का कामकारबाही नियमित रूपमा अगाडि बढाउन नसकिएको उल्लेख गर्दै संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

“केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ। कैयौँ विधेयकहरू छलफल भएको छैन। परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौँ। पछिल्लो समय संसद् अवरोध नियमित कानून बनाउन बाधक भएको छ। माननीयज्यूहरूले संसद् अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु,” उनले भने ।

संसद्ले पछिल्ला वर्षहरूमा नियमित काम गर्न नपाएको उनको भनाइ छ। उनले अघिल्लो संसद्मा पनि संसद् विघटन, पुनर्स्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा पर्याप्त छलफल हुन नसकेको बताए। उनले मानवअधिकार आयोगको घटुवाजस्ता गम्भीर विषयमा संसद्मा छलफल गर्नुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै उनले चित्ता व्यक्त गरे। 

“अरू पनि थुप्रै विधेयकहरू छन्, नीतिहरू बनाउनुपर्ने अवस्था छ। यो परिस्थितिको अन्त्य हुनपर्छ,” उनले भने, “मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ। यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु। संसद्मा पनि अथासक्य यस विषयमा छलफल हुनुपर्छ।”