कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ।

भारतको उत्तरपश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि नै हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।

राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।