भोजपुरमा पहिरोले पुरिएर १ जनाको मृत्यु

बिहीबार परिवारसँग निगुरो टिप्न घर नजिकैको जंगल गएका तामाङलाई करिब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो।

भोजपुर– पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ।

जंगलमा निगुरो टिप्न गएका भोजपुर नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो। 

परिवारसँग निगुरो टिप्न घर नजिकैको जंगल गएका तामाङलाई बिहीबार करिब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो। पहिरोमा परेर बेपत्ता भएका तामाङको सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए। 

खोजी गर्ने क्रममा शुक्रबार राति तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।