भारतको गुजरातमा ट्रक र कार ठोक्किँदा १० जनाको मृत्यु

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकका आफन्तलाई दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

सांकेतिक तस्वीर

भारतको पश्चिमी गुजरात राज्यमा भएको दुर्घटनामा तीन बालबालिकासहित १० जनाको मृत्यु  भएको छ।  

कार र ट्रक ठोक्किँदा भएको दुर्घटनामा अन्य १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। 

अहमदाबाद जिल्लास्थित बाभला–बगोदरा राजमार्गमा शुक्रबार गाडी रोकी राखेको ट्रकसँग यात्रुवाहक कार ठोक्किएको थियो। 

पीडितहरू धार्मिक कार्यक्रममा सहभागी भई फर्किने क्रममा दुर्घटनामा परेका थिए। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।