पहिरोसँगै खसेको ढुंगाले लागेर प्रहरी जवानको मृत्यु

भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका प्रहरी जवान कीर्तिबहादुर नेपालीको हेटौँडा अस्पताल उपचारका क्रममा मृत्यु भएको छ।

मकवानपुर– मकवानपुरमा सुक्खा पहिरोसँगै खसेको ढुंगाले लागेर प्रहरी जवानको मृत्यु भएको छ।

प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए। 

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीको हेटौँडा अस्पताल उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए। 

“बिहीबार भैँसेस्थित प्रहरी चौकीमा काम गरिरहेको समयमा उनी चिप्लिएर घाइते भएका थिए,” उनले भने, “हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगाले लागेर पुनः घाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्‍याइएको थियो।”

नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएका थिए। उनको भने अवस्था सामान्य रहेको कार्कीले बताए। 

मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा हुन्।