सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै दिन टिक्दैन : शेखर कोइराला

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कार्यम हुनुपर्ने आवश्यकता औँल्याए।

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, “भ्रष्टाचार र सुशासन आजैदेखि यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरूको माझमा राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ।”

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य गरी सुशासन कार्यम हुनुपर्ने आवश्यकता औँल्याए।उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए।

नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहोर्‍याए।

नेता कोइरालाले पार्टीको भ्रातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। उनले पार्टीभित्रै प्रतिशोधको राजनीति हुन नहुनेसमेत बताए।