आईटी क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री महतको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा आईटी क्षेत्रमा लगानी गर्नका लागि राम्रो अवसर रहेको बताएका छन्।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको बताए। उनले नेपालमा व्यापार व्यवसाय गर्नका लागि ठूलो अवसर रहेको बताए। 

“नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहेका छन्,” उनले भने।

उनले नेपालमा आईटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आईटी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका लागि राम्रो अवसर दिएको उल्लेख गरे। 

“आईटी क्षेत्र राम्रो बन्दै गइरहेको छ। नेपाली युवाहरू सफ्टवेयर निर्यात गरिरहेका छन् विदेशमा। नेपाललाई पनि फाइदा गरिरहेका छन्, आफ्नो जीवन पनि राम्रो बनाइरहेका छन्। आईटी क्षेत्रका लागि धेरै ठूलो लगानी गर्न पर्दैन। यसका लागि समर्पण र स्किल भए पुग्छ। त्यसमा पनि लाग्न अनुरोध गर्छु,” उनले भने।

मन्त्री महतले यस पटकको बजेटमा आईटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरिएको पनि सुनाए।

नेपालको अहिलेको चुनौती भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए।