हवाई टापुको जंगलमा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने भवनहरू ध्वस्त भएका छन्।

तस्वीर : एपी

हवाई टापुको माउई जंगलमाा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको सर्वसाधारणले गुनासो गरेका छन्।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ भने भवनहरू ध्वस्त भएका छन्। अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन्। खरानीमा परिणत भएको आफ्नो घरको परिसरमा भेटिएकी एन्थोनी ग्रेसिया आगोले बाँकी राखेको स्थानमा ठूलो लामो औजारको सहायताले सरसफाइ गरिरहेकी छन्। 

एक्ली उनले ईश्वरप्रति आफ्नो विश्वास टुटेको बताउँदै केही नगरी त्यसै बसेमा आफू बहुलाउन सक्ने दुखेसो गरिन्। कुकुर, बिराला, कुखुरा र अन्य चौपायाका हाडखोड फालिरहेकी उनी भष्मप्रायः भएको नजिकको रुखतिर हेर्दै फोहोर सफा नगरे महामारी फैलिन सक्ने बताउँछिन्।  

शुक्रबार फेरि सल्किएको आगोले पश्चिम माउको कानापालीमा बासिन्दालाई घरबाहिर निस्कन बाध्य बनाएको विवरण माउ प्रहरी प्रभागले सामाजिक सञ्जालमा घोषणा गरे पनि नयाँ आगलागीको कुनै विवरण प्रदान दिएको छैन। 

घर, पसल र व्यवसायको नामोनिशान छैन। सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्। टेलिफोनका खम्बा डढेर काला भएका छन्। पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ। 

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुनेबित्तिकै क्षतिको मूल्यांकन गरिने बताएका छन्। आगलागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन्। 

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिशाप बनेको छ। दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए।

त्यसपछि आपत्कालको सूचना दिन शहर बजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन्।