एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले शुरू गरेको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै दिन नटिक्ने दाबी गरे।
“मैले अस्ति प्रधानमन्त्रीजीलाई भने–अहिले यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति उहाँले शुरू गर्नुभएको छ। उहाँलाई आज मज्जा लागेको छ। तर यो राजनीति यहीँ अन्त्य हुँदैन। यो त यहाँ शुरू भयो। यसको अन्त्य यहाँ हुँदैन। धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु,” उनले भने।
अध्यक्ष ओलीले कांग्रेस सांसद सुनील शर्मालाई हतकडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफूविरुद्ध नबोल्न तर्साएको आरोपसमेत लगाए। “एउटा जननिर्वाचित सांसदलाई, जसको नामअगाडि माननीय राखिएको छ। त्यसलाई समाउँछ भने अरू यसै थर्किनुपरेन। तर म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु–तपाईंहरूको बुद्धि ठेगानमा रहोस्। नेपाली जनता यस्ता कुराबाट तर्सिनेवाला चाहिँ छैन,” उनले भने।
त्यस्तै, अध्यक्ष ओलीले सत्तारुढ दल नेपाली कांग्रेस टिप्पणी गर्न लायक पार्टी नरहेको दाबी गरे। संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाइ थियो। उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस रहेकोमा आफू छक्क परेको बताए।
“नेपाली कांग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो? अचम्म लाग्छ। पछाडि पुच्छर चुप लागेर बसेको छ। अगाडि नेपाली कांग्रेस डोलायमान छ। त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ। त्यो उहाँहरूको मामिला हो। मेरो यसमा कुनै कमेन्ट छैन,” उनले भने। उनले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरूले टिप्पणीसमेत नगर्ने बताए।
अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकार गम्भीर नभएको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
