नाइजर राष्ट्रपतिको स्वास्थ्य परीक्षण, रिहा गर्न सेनाद्वारा अस्वीकार

जुलाई २६ मा सेनाले सत्ता कब्जा गरी बन्धक बनाएपछि राष्ट्रपति बाजोम, उनकी श्रीमती र २० वर्षीय छोराको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ।

सेनाद्वारा हिरासतमा लिइएका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई शनिबार उनको निजी चिकित्सकको टोलीले भेटेको छ। 

राष्ट्रपतिका चिकित्सकसहित अन्य टोलीले उनलाई हिरासतमा पुगी भेटेको र सामान्य स्वास्थ्य परीक्षण गरिएको एएफपीले जनाएको छ। 

राष्ट्रपति बाजुमसँग भेटेपछि चिकित्सक टोलीका एक सदस्यले भने, “राष्ट्रपति बाजुमले आज आफ्नो चिकित्सकलाई भेट्नु भएको छ र चिकित्सकले बाजुम, उहाँकी पत्नी र छोराका लागि खाना पनि ल्याउनुभएको थियो। अवस्था हेर्दा उहाँ ठिक हुनुहुन्छ।”

जुलाई २६ मा सेनाले सत्ता कब्जा गरी बन्धक बनाएपछि बाजोम, उनकी श्रीमती र २० वर्षीय छोराको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ।

संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अफ्रिकी संघले पनि बाजुमको पक्षमा आवाज उठाएका छन्। राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले बाजुमलाई हिरासतमा राखिएको घटना अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको उल्लंघन तथा अमानवीय र अपमानजनक व्यवहार भएको बताएका छन्। 

अमेरिकाका उच्च कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले सेनाले बाजुमको परिवारलाई रिहा गर्न अस्वीकार गरेकोप्रति खेद व्यक्त गरे। 

ह्युमन राइट्स वाचले यसै साताको शुरूमा बाजुमसँग कुराकानी गरेको जनाएको छ। एचआरडब्लूका अनुसार ६३ वर्षीय बाजुमले आफू, आफ्नी श्रीमती र छोरामाथि गरिएको व्यवहारलाई ‘अमानवीय र क्रूर’ भनेका छन्। 

सीएनएनले गत हप्ता गरेको रिपोर्टमा राष्ट्रपति बाजुमलाई अलग्गै राखिएको र सुख्खा भात र पास्ता खान बाध्य पारेको बताइएको थियो।