म्यानमारमा बाढी: ४५ हजारभन्दा बढी मानिस विस्थापित

बाढी पीडितका लागि देशभर १०९ वटा आश्रयस्थल स्थापना गरिएको छ। १० हजारभन्दा बढी मानिसलाई उक्त आश्रय स्थलमा पुर्‍याइएको विपद् व्यवस्थापन विभागले जनाएको छ। 

तस्वीर:एपी

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिस विस्थापित भएका छन्। 

सामाजिक कल्याण, राहत तथा पुनर्वास मन्त्रालयका अनुसार पाँच जनाको मृत्यु भएको छ। म्यानमारको काचिन, केइन, बागो, मगवे, मोन र राखाइन क्षेत्र बाढीबाट बढी प्रभावित छन्। 

बाढी पीडितका लागि देशभर १०९ वटा आश्रयस्थल स्थापना गरिएको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले बताए। बाढीले पुल तथा सडक बगाउँदा धेरै गाउँहरूमा यातायात सम्बन्ध विच्छेद भएको छ।

१० हजार भन्दा बढी मानिसलाई आश्रय स्थलमा पुर्‍याइएको छ। ५२ वर्षीया टिन विनले आश्रय स्थलको अवस्था साँघुरो भए पनि सुरक्षित र सुख्खा भएकोमा कृतज्ञ भएको बताइन्। “स्थान सानो छ र सुत्न धेरै ठाउँ छैन। हामी एक अर्काको छेउमा सुत्नु पर्छ,” उनले भनिन्।

अगस्ट २० सम्म अय्यरवाडी र चिन्दबिन नदीसहित ठूला नदीको बहाव बढ्ने म्यानमारको मौसम एजेन्सीले जनाएको छ।