अविरल वर्षाका कारण हवाई उडान प्रभावित

‘भिजिबिलिटी’ कम भएपछि केही उडान ‘डाइभर्ट’ र केही रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कम भएपछि केही उडान ‘डाइभर्ट’ भएका छन् भने केही उडान रद्द भएका छन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए। उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ।

चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन्। साथै अन्य अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको उनले बताए। 

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल मध्यान्ह १२ बजेसम्म खुल्न सकेका छैनन्। काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ।