बर्दियामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

वर्षाका कारण स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको छ।

काठमाडौँ– बर्दियाको रम्भापुर, रानी र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।

उक्त क्षेत्रमा शनिबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको छ। ती स्थानमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

विभागका अनुसार बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यो अति भारी वर्षा हो।

यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ। यस्तै, सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ। यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा नजिक छ।

अति भारी वर्षा भएकाले बर्दियामा बाढीको उच्च जोखिममा परेको छ। यहाँका सडक र सम्म परेका ठाउँ जलमग्न भइसकेका छन्।

स्थानीय खोलामा आएको बाढीले बार्बर्दिया नगरपालिका–८ का सबै गाउँ डुबानमा परेका छन्।