एमालेको चिन्ता सरकारको होइन, देशको हो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले भयावह ढंगले देशको अर्थतन्त्र, सुशासन, शासकीय, प्रशासकीय संरचना र मूल्यमान्यतामाथि प्रहार भइरहेको बताएका छन्।

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताएका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले अहिले आफ्नो पार्टीलाई सरकारमा रुचि नभई देशको चिन्ता भएको बताएका हुन्।

सुन तस्करीको हल्ला चलाएर एमालेले सरकार जान खोजेको त होइन भन्ने टिप्पणी भइरहेको भन्दै उनले भने, “नेकपा एमालेलाई सरकारमा रुचि होइन। चिन्ता सरकारको होइन, देशको हो चिन्ता। देशको अर्थतन्त्रको हो चिन्ता। जनताको दैनिकीको कुन अवस्थामा देश गइराखेको छ, कस्तो अवस्थामा पुगिराखेको छ? उद्योगधन्दा के भइराखेको छ? अब म स्पष्ट गर्न चाहन्छु–एमालेलाई अहिले सत्तामोह, सत्ता लोलुपता, त्यतापटि सत्तातिर हामीले हेरेका छैनौँ।” उनले सत्ताप्रति चासो नदिए पनि सरकारबाट हुने गलत कामकारबाहीको खबरदारी गरिरहने बताए।

सत्ता पक्षकै सांसदले संसद्मा अवरोध गरेको एमाले अध्यक्ष ओलीको आरोप थियो। सत्तापक्षका सांसदले प्रतिपक्षीलाई बोल्न नदिने नीति लिएको उनको टिप्पणी थियो। “हामी चलाउन खोजिराखेका छौँ। तर प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष जर्‍याकजुरुक सबै उठेर हल्ला गर्ने, संसद्मा व्यवधान खडा गर्ने, बोल्न पनि नदिने,” उनले भने।

उनले भयावह ढंगले देशको अर्थतन्त्र, सुशासन, शासकीय, प्रशासकीय संरचना र मूल्यमान्यतामाथि प्रहार भइराखेको बताएका छन्। “एउटा नाकाबाट दिनमा सय किलो सुन आइराखेको छ। सबै पास भएको छ। फेला परेको छैन। एक दिन एउटा खानतलासीमा सय किलो सुन निस्कन्छ। अनि के यो चुस्की लिने विषय हो? कुराको चुस्की लिने विषय हो र यो? यो पार्टीगत पक्षधरताको कुरा हो र? यो देशप्रति, देशमा सुशासन हुनपर्छ भन्ने कुराप्रतिको हामी सबै नेपालीको उत्तिकै चिन्ता, चासो र सरोकार हुनु पर्दैन?” उनले भने।

अध्यक्ष ओलीले निर्माण व्यवसायीलाई गिरफ्तार गरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए। अप्ठ्यारोमा परेका निर्माण व्यवसायीलाई वार्ताद्वारा उनीहरूका समस्या समाधान गर्नुको साटो सरकारले उनीहरूलाई घाँटी थिचेर मार्ने प्रयास गरिरहेको ओलीको जिकिर थियो।

“आज निर्माण व्यवसायीहरू गिरफ्तार गरिन्छन्। उनीहरूका भनाइ कसैले सुन्दैन। किनभने निर्माण व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो,” उनले भने। उनले सरकारले नागरिकका कुनै पनि समस्याको सुनुवाइसमेत नगरेको गुनासो गरे।