बंगलादेशी नागरिकलाई बन्धक बनाइ फिरौती असुल्ने गिरोह पक्राउ, ६ जनाको उद्धार

बंगलादेशी नागरिकलाई बन्धक बनाइ उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ– बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाइ काठमाडौँमा बन्धक बनाउने गिरोहका सात व्यक्ति पक्राउ परेका छन्।

बंगलादेशी नागरिकलाई बन्धक बनाइ उनीहरूका परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

कार्यालयले आरोपितलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धारसमेत गरेको छ। गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाइ राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो।

पक्राउ पर्नेहरूमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय एमडी मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बंगलादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहाङ्गिर आलम, काठमाडौँ हाडीगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन्।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार प्रहरी परिसर काठमाडौँ पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिए।

पीडितहरूमध्ये कालीमाटीडोलमा रहेको मेमोरियल गेस्ट हाउसबाट एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसैन र एमडी अल अमिनलाई उद्धार गरिएको छ। त्यस्तै, हरिसिद्धिको एक घरमा बन्धक बनाइ राखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।