हवाई टापुको डढेलोमा ९३ जनाले ज्यान गुमाए, शव बुझाउन चुनौती

आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ।

काठमाडौँ– हवाई टापुको माउई जंगलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन। विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको सर्वसाधारण क्रुद्ध भएका छन्। घरै नजिक डढेलो सल्किँदा पनि जानकारी नपाएकामा भिलिम रेड खिन्न छिन्।

हातमुख जोर्न दयालु र अपरिचतको कृपा पाउनुपर्ने बाध्यात्मक अवस्थामा आफू पुगेको उल्लेख गर्दै उनले छेवैमा रहेको सानो कार देखाउँदै अबको यो नयाँ घरमा आफ्नी छोरी, नाति र दुई वटा बिरालासहित आफूलाई अभ्यस्त बनाउनुपर्ने सुनाइन्। 

१२ हजार हवाईका बासिन्दा लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन। नगरको मध्य भागमा रहेको १५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन्।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन्। अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताएका छन्।

घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाश मात्र देखिन्छ। डढेका पशुको दुर्गन्धले नाक छाप्दै सफाइ गर्नुपरेको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुनेबित्तिकै क्षतिको मूल्यांकन गरिने बताएका छन्। आगलागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन्। केही स्थानमा क्षतिको आकलन थालिएको छ। हवाईका गभर्नर जोस ग्रिन नेतृत्वको टोली आगलागी भएको स्थानमा पुगेको छ। सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन्। 

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिशाप बनेको छ। दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए। त्यसपछि आपत्कालको सूचना दिन शहर बजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन्।

आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ। चिकित्सकहरूले मासुको टुक्रा परीक्षणका निम्ति उठाउँदा त्यो खसेर अर्को निकाल्नुपर्ने दारुण स्थिति उत्पन्न भएको छ। द्रुत गतिमा डीएनए परीक्षण गर्न गभर्नर ग्रीनले निर्देशन दिएका छन्।