सांसद पौडेलले कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमाने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए।
काठमाडौँ– नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाइनुपर्ने बताएका छन्। आइतबार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका हुन्।
उनले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताए। सुन तस्करी प्रकरणको मात्रै नभई अन्य चर्चित घटनाहरूको पनि छानबिन हुनुपर्ने उनको भनाइ थियो।
सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङबिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको गुनासो गरे। उनले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको बताए।
“यो सियो आएको होइन। एक क्विन्टल सुन आएको हो। अध्यागमन प्रशासन नमिलाईकन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन। एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन,” उनले भने, “त्यसैले अब राजनीतिक नेतृत्वको संलग्नता छ, छैन योभन्दा अगाडि भन्न सकिँदैनथ्यो। तर अब छानबिनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ।”
उनले भरिया मात्रै समातियो, भारी बोकाउनेलाई किन समातिएन भन्दै प्रश्न गरे। सीआईबीले प्रभावकारिता देखाउन नसके त्यसको विकल्प खोज्नुपर्ने उनको भनाइ थियो। सुन तस्करी प्रकरणमा हङकङ सरकारलाई पत्र लेख्नुपर्ने, त्यसको सम्बन्ध कहाँ–कहाँ त्यसको सोधीखोजी गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनले बताए।
“कसरी भयो भन्नेबारेमा सोधखोज किन गर्दैन? यसलाई जुन ढंगबाट छानबिन गर्नुपर्ने हो, जुन रफ्तारमा हुनुपर्ने हो, बोकाउनेहरू को–को हुन् त्यसलाई खोज्ने सन्दर्भमा किन आजसम्म उपलब्धि भएन? अनि एउटा पत्रिकाले कसको कति पटक टेलिफोन संवाद भयो भन्ने थाहा पाउन सक्छ। राज्यले थाहा पाउन सक्दैन?” उनले भने।
सांसद पौडेलले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमाने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए।
“यसको मात्रै होइन चर्चित सबै घटनाहरूको छानबिन हुनुपर्छ। कांग्रेसको संसदीय दलको बैठकले आजसम्मका जति पनि चर्चित घटनाहरू छन्, ती सबै घटनाहरूको छानबिन गर्नका निम्ति उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ,” उनले भने, “यदि त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने यो सरकारप्रतिको समर्थन हामीले फिर्ता लिनुपर्छ।”
सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरूमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताए। प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाएका छौँ साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरूको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताए। उनले प्रधानमन्त्री दाहालले आफ्नाबाहेकका पार्टीका नेताहरूमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
