बबई नदीमा दाउरा संकलन गर्ने क्रममा बगेर तीन बेपत्ता

बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।

कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कको सीमानामा कर्णाली नदी कटान रोक्न ठूला ढुंगा प्रयोग गरी नदी नियन्त्रणको प्रयास हुँदै। तस्वीर– दुर्गा देवकोटा / रासस

बर्दिया– बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।

बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । 

बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए।

पैनीमा डुबेको अवस्थामा शव फेला
सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ।भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आज पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उनले घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उल्लेख गरे। प्रहरीले घटनाको थप अनुसन्धान शुरू गरेको उल्लेख गरेको छ।