काठमाडौँ महानगरमा खुला दूध बिक्री गर्न रोक

पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको र यस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भन्दै निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी काठमाडौँ महानगरले रहेको छ।  

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले खुला दूध प्लास्टिकमा हालेर बिक्री वितरण गर्न रोक लगाउने भएको छ । कामपाले खुला रूपमा दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै उक्त कार्य तत्काल रोक्ने जनाएको हो।  

पछिल्लो समय बजारलाई थप व्यवस्थापन गर्नका लागि भन्दै नियमित रूपमा अनुगमन गर्ने तयारी गरिरहेको कामपाले विषेशगरी खुला रूपमा बेचिने खानेकुरा, पेयपदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउने कामपाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।  

उनका अनुसार बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल टोली परिचालित हुनेछ।  

“माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो सङ्क्रमण फैलिन्छ । यसको स्रोत मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्”, उनले भनिन्, “अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानूनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ।”

त्यसैगरी पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारीसमेत कामपाको रहेको छ।  

चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वास्थ्यकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। कामपाको समग्र स्वास्थ्य कार्यक्रमका लागि भने कूल ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ।  

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ। कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ।

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरिवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ। सुपरिवेक्षण समितिको कामको समन्वय एकाइले गर्छ ।