सप्तकोशीमा सन् १९८९ पछि पहिलोपटक पानीको बहाव सबैभन्दा उच्च विन्दुमा पुगेको छ। यता मध्य नेपालको नारायणी र पश्चिम नेपालको महाकाली नदीको सतहले पनि सतर्कता तह पार गरेको छ।
काठमाडौँ- अविरल वर्षासँगै देशका अधिकांश ठूला नदीमा पानीको बहाव बढेको छ। ती नदीको सतह सतर्कता तहभन्दा माथि भएपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
कोशी, नारायणी, कर्णाली, बबईको जलसतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। देशकै ठूलो नदी सप्तकोशीको पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ। कोशीको पानीले अझै ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ। पछिल्लो मापन अनुसार सप्तकोशीमा ४ लाख क्युसेक प्रतिसेकेण्ड पानी बगिरहेको छ।
सोमबार बिहान पानीको बहाव चार लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेण्ड पुगेको थियो। बहावमा उतारचढाव जारी रहेकाले पूर्ण सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। उच्च बहावसँगै खोलिएका ब्यारेजका ५६ ढोकाको अवस्था हेरेर क्रमशः बन्द गरिने स्थानीय प्रशासनले जनाएको छ।
कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लोपटक मापन गरिएको चार लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेण्ड बहाव पानी अहिलेसम्मकै तेस्रो उच्च हो। यसअघि ब्यारेजमा कोशी नदीको बहाव सन् १९६८ मा सबैभन्दा बढी सात लाख क्युसेक मापन भएको थियो। सन् १९८९ मा भने पानीको बहाव चार लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको थियो।
नदीको बहाव उच्च हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको चौथोपटक हो। यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सो बेला समेत पुलका सबै ढोका खोलिएको थियो।
नदीको बढ्दो जलसतहसँगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ। सुरक्षाका सबै निकायलाई अलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सजनकारी दिएकी छन्।
उता, नारायणी नदीमा पनि पानीको सतह सतर्कता केन्द्रभन्दा माथि पुगेको छ। अविरल वर्षापछि आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार विहान करिब ६ बजे नदीको जलसतह देवघाटमा ७.७ मिटर र नारायणी पुल नारायणगढमा ११.१५ मिटर थियो। देवघाटमा ७.३ मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७.४२ मिटर पुगेको थियो।
नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि भारी वर्षा हुने अनुमान गरेको छ।
महाकाली नदीको जलसतह पनि खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। उता पोखरामा सेती नदीमा बहाव बढ्दा पोखराको रामघाट डुबानमा परेको छ।
अन्य नदी कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ। महाशाखाका मौसमविद् रोजन लामिछानेले सोमबार र मंगलबार बदली तथा वर्षा हुने बताए। “आज र भोलि बदली र वर्षा हुनेछ, तथापि गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ, सोमबार र मंगलबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ,” उनले भने।
अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। सोमबार राति कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रासस र नानसमेतको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
