गैब्रिएला र उनका श्रीमान्को शरीरमा संयुक्त रूपमा ९१ वटा ट्याटू खोपिएका छन्। दुवै जना ट्याटू ‘आर्टिस्ट’ हुन्।
शरीर परिमार्जनको दुनियाँमा गैब्रिएला पेराल्टा चर्चित नाम हो। ‘वास्तविक जीवनमा नर्ककी परी’ भनेर चिनिने उनले पछिल्लो समय आफ्नो शरीरमा नयाँ ट्याटू खोपाएको तस्वीर साझा गर्दै लेखिन्, “मलाई कुनै पछुतो छैन।”
उनले ट्याटू मात्रै होइन शरीरका अंगहरूलाई नै नयाँ स्वरूप दिन ‘मोडिफाइ’ गरेकी छिन्। जसलाई साथ दिएका छन् उनका श्रीमान भेक्टरले । गैब्रिएला अर्जेन्टिनाकी हुन् भने उनका श्रीमान् भेक्टर उरुग्वेका।
मिररका अनुसार गैब्रिएला र उनका श्रीमान्को शरीरमा संयुक्त रूपमा ९१ वटा ट्याटू खोपिएका छन्। दुवै जना ट्याटू ‘आर्टिस्ट’ हुन्। ट्याटू खोपिएका आँखाका नानी र चिरिएको जिब्रोले यो जोडीलाई साँच्चिकै डरलाग्दो रूप दिएको छ।
गैब्रिएलाले १५ वर्षअघि भेक्टरसँग प्रेम–विवाह गरेकी हुन्। दुवै जनाको ट्याटू मोहबाट शुरू भएको प्रेमसम्बन्ध विवाहमा परिणत भयो। ५२ र ५३ वर्षका यी जोडीले सबैभन्दा बढी शरीर परिमार्जन अर्थात् ‘बडी मोडिफिकेसन’ गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्। १० वर्षअघि राखेको उनीहरूको यो कीर्तिमानलाई अहिलेसम्म कसैले उछिन्न सकेको छैन।
आफ्ना शरीरका अंगको स्वरूपलाई नयाँ रूप दिन गैब्रिएला र उनका श्रीमान् नयाँ–नयाँ तरिका खोजिरहन्छन्। पाखुरा मुनिपट्टिको भागलाई फराकिला र ठूला बनाउन गैब्रिएलाले ८ हजार पाउन्ड खर्चेकी छिन्।
“मैले मेरो शरीरमा यो परिमार्जन गरेको हो। किनभने, म मेरो शरीरमा अझै धेरै कुरा जोड्न चाहन्छु,” उनी भन्छिन्, “शरीर परिमार्जनले नै मेरो रूपमा पूर्णता दिन्छ।”
ट्याटू अथवा शारीरिक स्वरूप परिमार्जनको रहरले गैब्रिएला बायोमेक प्रत्यारोपणजस्तो जटिल प्रक्रियाबाट पनि गुज्रिसकेकी छिन्। मेक्सिको भ्रमणमा रहँदा उनी र उनका श्रीमान् शरीर परिमार्जनसम्बन्धी एक प्रदर्शनमा पनि सहभागी भएका थिए। उनीहरूको साथी ‘बडी मडिफायर’ गाटो मोरेनोले आफ्नो घरमा केही दिन बिताउन र ट्याटू स्टुडियोको भ्रमण गर्न आग्रह गरेका थिए। सोही क्रममा त्यहाँ उनीहरूले शरीरमा चिरा पारेर नयाँ अंग प्रत्यारोपण पनि गरे। निधारमा सिङको आकारदेखि गालामा गाँठाहरू पनि उमारे।
यो शल्यक्रिया गर्न ४० मिनेट लाग्यो र ८५८ पाउन्ड खर्च पनि भयो। तर यति गर्दा पनि गैब्रिएलाले आफूलाई कत्ति पनि पीडा नभएको प्रतिक्रिया दिएकी थिइन्। “पीडा मेरो लागि रमाइलो कुरा हो,” अनलाइन पत्रिका एनटीकेसँग कुरा गर्दै उनले भनेकी थिइन्, “दुर्घटना हुँदा वा केही भाँचिँदा पीडा हुन सक्छ, तर शरीर परिमार्जन गर्दा मलाई केही हुँदैन।”
गैब्रिएलाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी थिइन्, जसमा उनी शल्यक्रिया गर्ने श्ययामा पल्टिरहेकी थिइन्। उनको घाँटीको मुनिको अंग प्रत्यारोपण गर्न दुई जनाले कैँची चलाइरहेका हुन्छन्। त्यो भागबाट रगत झिकिन्छ र सिलिकनको वस्तु बलपूर्वक भित्र घुसाइन्छ।
यस्तो पीडादायी क्षणमा पनि गैब्रिएला निश्चिन्त देखिएकी थिइन्। उनी भन्छिन्, “म कुनै पनि कुराबाट प्रेरित हुँदिनँ। म पूर्ण रूपमा दृढ छु। जब म आफूले चाहेको कुरा छनोट गर्छु, त्यो गरेपछि कस्तो देखिन्छु होला भनेर आफैँ कल्पना गर्छु। अनि बल्ल म प्रत्यारोपण वा ट्याटूका लागि तयार हुन्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
