टक्सार महाशाखाले थाल्यो विमानस्थलबाट बरामद सुन जोख्ने प्रक्रिया

राष्ट्र बैंकको टक्सार महाशाखामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन जोख्न थालिएको छ।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ। सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुमा राखी प्याक गरिएका बट्टाबाट सुन निकालेर जोख्न थालेको हो। 

राजस्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया शुरू गर्दा महाशाखाले एउटा ब्रेक शु खोलेर ‘डेमो’ देखाएको छ। टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम शुरू गरेको बताए।

सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रूपमा सुन जोख्ने काम गरिने उनको भनाइ छ। उनका अनुसार ब्रेक शु र सुन छुटाएपछि सुनलाई गालेर जोखिने छ। एउटा ब्रेक शु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको  छ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक शु सहितको सुनको तौल १५५ किलो रहेको छ। सुन छुटाइ सकेपछि सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ। त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्नेछ।