नेपाल र पाकिस्तानबीचको खेलको टिकट मूल्य निर्धारण

एन्फाले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबल खेलको टिकटको मूल्य निर्धारण गरेको छ। भाग्यशाली खेलाडीले कतारमा हुने विश्वकप फुटबलको टिकट जित्न सक्ने पनि एन्फाले जनाएको छ।

तस्वीर : एन्फा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल खेलको टिकट मूल्य निर्धारण गरेको छ। 

एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक ३० गते घरेलु मैदानमा आयोजना हुने मैत्रीपूर्ण फुटबल खेलको टिकटको मूल्य निर्धारण गरेको हो।

एन्फाका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि सामान्य प्यारापिटतर्फ ५ सय र भीआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको छ।

टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने एन्फाले जनाएको छ। विजेता गोलापर्थाद्वारा छनोट गरिने छ।

एन्फाले विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलका लागि ८० वटा टिकट बिक्रीका लागि राखिने जनाएको छ। नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुन लागेको हो। खेल साँझ ५:३० बजे सुरु हुनेछ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली आइतबार नेपाल आइपुग्ने एन्फाले जनाएको छ। नेपालले मुख्य प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा तयारी गरिरहेको छ।