मौसम सुधारसँगै मनाङको यातायात सुचारु, बढ्यो पर्यटकीय चहलपहल

डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेमा सडक भासिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। 

फाइल तस्वीर

मनाङ– हिमाली जिल्ला मनाङ आउने एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ। 

सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो। आवतजावत पूर्ण रूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी र स्थानीय बीचबाटोमा नै अलपत्रमा परेका थिए।

सो सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेस्थित सडक भासिएको थियो। सडक खुलेसँगै औषधिलगायत अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिए। 

उनका अनुसार मौसमले धेरै प्रभाव पार्ने मनाङमा मनसुनको यात्रा सकस हुन्छ। यसले गर्दा सावधानी अपनाउनुपर्ने भए पनि अत्यावश्यक कामले हिँड्न बाध्य हुनुपर्ने उनको भनाइ छ। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४–१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिए। 

“आन्तरिकजस्ता हुँदैनन्, विदेशी पर्यटक जोखिमलाई आत्मसाथ गर्ने भएकाले पहिराको जोखिम पार गर्दै पर्यटक आउने क्रम जारी छ,” उनले भने, “सिजन पनि शुरू हुने बेला भएकाले चहलपहल बढ्न थालेको छ।” 

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताए।

“यस सडकमा जोखिम त अझै पनि छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ,” उनले भने।