ट्रम्पविरुद्ध अभियोग दर्ता, जर्जियामा चुनावी परिणाम उल्टाउन खोजेको आरोप

फुल्टन काउन्टीका अधिवक्ता फानि विलिसले सन् २०२१ मा ट्रम्प र उनका सहयोगीमाथि चुनाव भड्काउन खोजेको तथा चुनावमा हस्तक्षेप गरेको विषयमा अनुसन्धान थालेका थिए।  

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सन् २०२० मा जर्जिया राज्यमा चुनावी हार उल्टाउने प्रयास गरेको अभियोग लगाइएको छ।

फुल्टन काउन्टी ग्रान्ड जुरीका तर्फबाट जारी गरिएका ४१ कागजातमा उनीलगायत अन्य १८ व्यक्तिमाथि उक्त आरोप लगाइएको बीबीसीले जनाएको छ।

यो वर्ष मात्रै ट्रम्पमाथि आपराधिक आरोप लागेको यो चौथो पटक हो। तर, ट्रम्पले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन्। उनले आफूमाथि लगेका सबै आरोपलाई अस्वीकार गरेका छन्।

फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानि विलिसले सन् २०२१ मा ट्रम्प र उनका सहयोगीमाथि चुनाव भड्काउन खोजेको तथा चुनावमा हस्तक्षेप गरेको विषयमा अनुसन्धान थालेका थिए। 

सोमबार राति अभियोग लगाइएका प्रतिवादीहरूको सूचीमा ट्रम्पका पूर्ववकिल रुडी गिउलियानी, ह्वाइट हाउसका पूर्वचिफ मार्क मिडो, ह्वाइट हाउसका पूर्ववकिल जोन इस्टम्यान र न्याय विभागका पूर्वअधिकारी जेफ्री क्लार्कसमेत छन्।

अभियोग पत्रमा भनिएको छ, “जानाजान वा अन्जानमा गैरकानूनी रूपमा चुनावको नतिजा ट्रम्पको पक्षमा पार्न सामेल भए।”

अभियोग पत्रमा प्रतिवादीलाई गलत बयान दिएको, आफूहरूलाई सार्वजनिक अधिकारीका रूपमा पेस गरेको, झुटा विवरण पेस गरेको, कम्प्युटर अतिक्रमण गरेको र साक्षीलाई प्रभावित पारेकोलगायत आरोप लगाउँदै आपराधिक संगठनको संज्ञा दिइएको छ।

उनीहरूले गरेका क्रियाकलापलाई त्यहाँको कानूनले गम्भीर अपराध मानेको छ। यस्तो अपराधलाई ‘ठगी प्रभावित र भ्रष्ट संगठन ऐन’ उल्लंघन गरेको आरोप लगाइएको छ। ऐनमा यस्तो अपराधमा २० वर्षभन्दा बढीको जेल सजाय हुने व्यवस्था छ।

चुनाव भड्काएको विषयलाई नै लिएर यसअघि पनि संघीय अभियोजनकर्ताले वासिङ्टन डिसीमा ट्रम्पविरुद्ध मुद्दा दायर गरेका थिए।

सन् २०२० को चुनाव उल्टाएर हालका राष्ट्रपति जो बाइडेनलाई हराउने उनको प्रयास भने सफल भएन।