७४ जिल्लामा फैलियो डेंगी, १३ हजार जना संक्रमित

देशभरि ७४ जिल्लामा डेंगीको संक्रमण फैलिँदा १३ हजार २९२ जना बिरामी परेका छन्।

काठमाडौँ देशभरि डेंगीको संक्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगीको संक्रमण फैलिँदा १३ हजार २९२ जना बिरामी परेका छन्।

डेंगीको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगीको संक्रमण बढिरहेको बताए। उनले दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे।

“दैनिक डेंगीको संक्रमण बढिरहेकाले सरसफाइसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ,” निर्देशक डा. मरासिनीले भने, “डेंगी संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ।”

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगीको संक्रमण देखिएको थियो। सन् २०२२ मा ५४ हजार ७८४ जना डेंगीबाट संक्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो।

सुनसरीमा सात हजार संक्रमित
डेंगीको संक्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेंगीबाट संक्रमित भएका छन्।

यस्तै मोरङ एक हजार ५९१, धादिङमा एक हजार २०२, झापामा ८९६, कास्कीमा २४७, धनकुटामा २३६, काठमाडौँमा १९६, दार्चुलामा १९४,  संखुवासभामा १५६ तथा चितवनमा ९० जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

कोशी प्रदेशमा बढी
डेंगीको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ। कोशीमा १० हजार १८२ जना यसबाट संक्रमित भएका छन्।

यस्तै बागमती प्रदेशमा एक हजार ७९३, गण्डकीमा ५१०, सुदूरपश्चिममा ४१७,  लुम्बिनीमा २६३, मधेशमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगीको संक्रमण देखिएको महाखाले जनाएको छ। 

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।