महराको दाबी– सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई फलफूल व्यापारी भनेर चिनेको हुँ

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ नागरिकसँग फोनमा सुन तस्करीका विषयमा कुराकानी नभएको दाबी गरेका छन्।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएकोमा अचम्म लागेको बताएका छन्।

मंगलबार दाङमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष महराले विद्युतीय चुरोट अर्थात् ‘भेप’भित्र लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका वाङ नाम गरेका चिनियाँ नागरिकलाई १०/१५ वर्षअघिदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको प्रष्टीकरण दिएका हुन्।

“वाङ भन्ने व्यक्ति फलफूल व्यापारी हुन्। १० वर्षअगाडि मेरो चिनजान भएको थियो। त्योभन्दा बढी मेरो चिनजान छैन,” महराले भने।

यस्तै, उनले ती चिनियाँ नागरिकसँग आफूले सुन तस्करीको विषयमा फोनमा कुराकानी नगरेको पनि दाबी गरे। वाङले विद्युतीय चुरोट ल्याएकाले भन्सारमा सजिलो गरिदिन भनेपछि आफूले भन्सारका कर्मचारीलाई फोन गरेर कानूनी प्रक्रियाअनुरूप सहज गरिदिन भनेको उनको जिकिर थियो।

यस्तै, यो विषयमा अनुसन्धानमा सघाउन आफू तयार भए पनि सम्बन्धित निकायबाट आफूलाई नबोलाएको महराको दाबी छ। विद्युतीय चुरोट अर्थात् ‘भेप’भित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा महरा र उनका छोराको राहुलको पनि नाम जोडिएको छ।