दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारमा दोषी ठहर, एक वर्ष कैद सजायको आदेश

विशेष अदालतले रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद, चार लाख बिगो र सोहीअनुरूप जरिबाना हुने आदेश गरेको छ।

काठमाडौँ– विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ।

न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले मंगलबार घुस र हिनामिना गरेको विभिन्न पाँच वटा कसुरमा दोषी ठहर गरेको हो।

अदालतले रिजाललाई एक वर्ष कैद, चार लाख बिगो र सोहीअनुरूप जरिबाना हुने आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोगपत्रमा जिकिर गरिएको थियो।