पेट्रोल प्रतिलिटर ५ र डिजेल–मट्टितेलको मूल्य १४ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ भने पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ महँगो भएको छ।

काठमाडौँ– नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएको हो।

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। बुधबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

मूल्य समायोजन भएसँगै काठमाडौँमा प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ थियो। त्यस्तै, काठमाडौँमा प्रतिलिटर १७३ रुपैयाँ रहेको पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। 

आयल निगमले देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरेर इन्धनको मूल्य निर्धारण गर्ने गरेको छ। तेस्रो वर्गमा पर्ने काठमाडौँ, पोखरा र दिपायलमा इन्धनको मूल्य सबैभन्दा बढी पर्छ। 

दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा प्रतिलिटर पेट्रोल १७७ र डिजेल मट्टितेल १६६ रुपैयाँ कायम भएको छ। त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर अमलेखगन्ज भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा प्रतिलिटर पेट्रोल १.५० रुपैयाँ सस्तो रहेको छ। यहाँ प्रतिलिटर पेट्रोलको मूल्य १७५.५० र डिजेल तथा मट्टितेलको मूल्य १६४.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडले अगस्ट १५ मा पठाएको मूल्यसूचीमा इन्धनको मूल्य बढेर आएअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्यसूची पठाउने गर्छ, त्यसअनुसार नेपालमा इन्धनको मूल्य घट्बढ हुने गर्छ।