भारतको हिमाचलमा बाढी: मृत्यु हुनेको संख्या ६५ पुग्यो, ८५७ सडक बन्द

बाढी, पहिरो र चट्याङका कारण ठूलो विनाश निम्त्याएको हिमाचल राज्यका मुख्यमन्त्री सुखविन्दर सिंहले बताएका छन्।

तस्वीर: एएफपी

भारतको उत्तरी राज्य हिमाचलमा भारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

हिमाचलमा मनसुन शुरू भएदेखि नै भारी वर्षा भइरहेको छ। बाढी, पहिरो र चट्याङका कारण ठूलो विनाश निम्त्याएको प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंहले बताएका छन्। “अहिलेसम्म राज्यमा ६५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्छ,” उनले भने। 

कांगरा जिल्लाका बाढी प्रभावित क्षेत्रबाट बुधबार बिहान सेनाको हेलिकप्टरको सहायतामा ४४० जनाको उद्धार गरिएको छ। सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोले पुरेको थियो।

मन्दिरमा रहेका ३० देखि ३५ जना पहिरोमा फसेको अनुमान छ। त्यसमध्ये घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी छ।

राज्य आपत्कालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यका ८५७ सडक बन्द गरिएको जनाएको छ।

हिमाचलमा बिहीबारसम्म भारी वर्षा जारी नै रहने भारतको मौसम विभागले जनाएको छ।