कृषिमा भविष्य देखेका धनकुमार: वार्षिक ५ लाखसम्म आम्दानी, ६ जनालाई रोजगारी

तरकारीले बजार नपाउँदा बारीमा नै कुहिएर जाने अवस्था रहेको धनबहादुरले बताए। बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने उनको भनाइ छ।

भोजपुर– भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ। उनीहरूले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन्।

पौवादुङमा गाउँपालिकाका धनकुमार राई १८ वर्षदेखि कृषि व्यवसाय गर्दै आएका छन्। धनबहादुरले तीन वर्षयता भने सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती पनि गरिरहेका छन्। तरकारीबाट आम्दानी गर्न सकिने देखेपछि थप विस्तार गरेको उनको भनाइ छ।

“विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ,” धनबहादुरले भने, “वार्षिक नौ लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्छु। त्यसमा कामदार, बीउ बिजनलगायत खर्च कटाउँदा वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ।”

आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा  विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए। “कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या छैन। अहिले पाँच–छ जनालाई रोजगारीसमेत दिएको छु,” उनले भने।

उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने धनबहादुरको भनाइ छ। “कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ,” उनले भने, “बजारको राम्रो व्यवस्था नहुँदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ।”

नमुना कृषि फर्मका रूपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट २०७९/८० मा दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताए। “लामो समयबाट कृषिमा लागेको थिए,” उनले भने, “तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ। यो पटक भने राज्यले सहयोग गरेको छ। यसले मलाई थप हौसला मिलेको छ।”

युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमुना कृषि कार्यक्रमलगायत योजना सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए। 

भने, “राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि जिल्लामा कृषिमा लाग्नेको संख्या बढेको अवस्था छ। यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ।”