हुम्लामा जहाज कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान, १ महिनामा ४ बालकको मृत्यु

बर्खाको बेला हुम्लामा बिहान मौसम खराब हुने तथा प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी र अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा छन्। 

फाइल तस्वीर

सिमीकोट– दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ। 

जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको जहाज कुर्दाकुर्दै ज्यान गएको छ। जिल्ला अस्पतालले रिफर गरेका उनीहरूको यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गएको हो। सिमीकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान हुँन सकेको छैन। 

सिमीकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमीकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चंखेली–४ का पाँच महिनाका बालक सन्देश लुवारको उपचार अभावमा ज्यान गएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्। 

“हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन,” उनले भनिन्, “उपचार नपाएरै मर्नुपर्ने अवस्था छ।” नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन। 

बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा छन्। 

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमीकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो पोखे। आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनले बताए। 

अस्पतालका चिकित्सक डा. रोशन रावतका अनुसार सुनारलाई साउन १७ गते उपचारका लागि अन्यत्र लैजान भनिएको थियो। 

“बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन। बाहिर लैजान नपाएपछि साउन २६ गते अस्पतालमै मृत्यु भयो।”