लिबियामा सशस्त्र समूहबीच झडप, २७ जनाको मृत्यु

सन् २०११ मा कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि संघर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदाबीच सोमबार राति शुरू भएको झडप बुधबारसम्म जारी छ।

तस्वीर: एएफपी

लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ। 

त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी १०० भन्दा बढी घाइते भएका छन्। सन् २०११ मा कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि संघर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदाबीचको झडप सोमबार राति शुरू भएको थियो। 

दुवै पक्षबीचको द्वन्द्व अझै जारी रहेको प्रत्यक्षदर्शीलाई उद्‌धृत गर्दै एएफपीले जनाएको छ। झडपमा ज्यान गुमाउने दुवै समूहका कार्यकर्ता हुन्। मृतक एवं घाइतेको अवस्थाबारे पनि खुलाइएको छैन। 

त्रिपोलीलाई आधार बनाएर मानवीय सहयोगका काम गरिरहेको रेडक्रिसेन्ट सोसाइटीले पनि सूचना दिन अस्वीकार गरेको एएफपीले जनाएको छ।