संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय

सदनको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्‌मा प्रतिनिधित्व गर्ने दलसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार शीर्ष नेताहरूले संसद्को गतिरोध खुलाउने विभिन्न विकल्पमा छलफल गरेका हुन्। 

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्‌मा प्रतिनिधित्व गर्ने दलसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी थिए।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरबाट बरामद भएको सुनबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ। 

१० साउनपछि संघीय संसद्का दुवै सदन नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्।