चितवनको टिकौलीमा ८ वटा सवारी साधन ठोक्किए, १५ जनाभन्दा बढी घाइते

घाइतेको उद्धार कार्य जारी रहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको चितवन प्रहरीले जनाएको छ।

काठमाडौँ– पूर्व–पश्चिम राजमार्गस्थित चितवनको टिकौलीमा आठ वटा सवारी साधन एक–अर्कासँग ठोक्किएर दुर्घटना भएको छ। 

बुधबार दिउँसो १ बजेतिर भएको दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी वीजयराज पण्डितले बताए। 

उनका अनुसार शुरूमा भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो। 

“त्यसपछि व्यस्त राजमार्गमा तीव्र गतिमा रहेका अरू सवारीसाधन पनि अनियन्त्रित भई त्यहाँ ठोक्किएको अनुमान छ,” उनले भने, “दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन्। थप विवर‌ण खुल्न बाँकी छ।” 

घटनास्थलमा उद्धार जारी रहेकाले घाइतेको संख्या बढ्नसक्ने डीएसपी पण्डितले बताए।