मुस्तफालाई बाहिर राख्दै न्यूजिल्यान्डविरुद्धको सिरिजका लागि यूएईको टोली घोषणा

८१ ओडीआईमा एक हजार ५०४ र ५८ टी–२० आईमा एक हजार ६ रन प्रहार गरेका मुस्तफा भने टोलीमा अटाउन सकेनन्। उनले ओडीआईमा ८५ र टी–२० आईमा ६१ विकेट लिएका छन्।

काठमाडौँ– अनुभवी अलराउन्डर रोहन मुस्तफालाई बाहिर राख्दै यूएईले न्यूजिल्यान्डविरुद्धको ३ टी–२० आई सिरिजको लागि टोली घोषणा गरेको छ।

इमिरेट्स क्रिकेट बोर्डले बुधबार मोहम्मद वासिमको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। वासिमले न्यूजिल्यान्डविरुद्धको यही सिरिजमार्फत् टी–२० आई कप्तानीमा डेब्यु गर्ने छन्। उनले यूएईबाट २३ टी–२० आई खेल खेल्दै ९४२ रन बनाइसकेका छन्। यस्तै ४ इनिङ्समा उनले ४ विकेट लिइसकेका छन्।

बोर्डले उनलाई यही वर्षको शुरूमा एक दिवसीय टोलीको कप्तानमा नियुक्त गरेको थियो। १६ सदस्यीय टोलीमा दुई अनक्याप्ड युवा खेलाडी मोहम्मद फराजुद्दीन र बायाँ हाते स्पिनर जेश जियानानी समावेश छन्। घरेलु क्रिकेट र युएई ‘ए’ टोलीबाट लगातार उत्कृष्ट प्रदर्शन गरेका दुवैलाई राष्ट्रिय टोलीमा बोलाइएको हो।

यता, लिग २ अन्तर्गत कीर्तिपुरमा मार्च १६ मा नेपालविरुद्ध ४२ बलमा १०१ रन प्रहार गरेका आशिफ खान पनि टोलीमा समेटिएका छन्। उनले पनि यही सिरिजमार्फत टी–२० आईमा डेब्यू गर्न लागेका हुन्। उनले ३० ओडीआई खेलमा एक हजार ४९ रन प्रहार गरेका छन्।

तर, ८१ ओडीआईमा एक हजार ५०४ र ५८ टी–२० आईमा एक हजार ६ रन प्रहार गरेका मुस्तफा भने अटाउन सकेनन्। उनले ओडीआईमा ८५ र टी–२० आईमा ६१ विकेट लिएका छन्।

यूएई र न्यूजिल्यान्डविरुद्धको सबै खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ। पहिलो खेल बिहीबार, दोस्रो शनिबार र तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ।