सामाजिक सुरक्षा कोषमा समेटिए अनौपचारिक क्षेत्रका श्रमिक

कार्यविधिमा अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ।

काठमाडौँ– अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा समेटिएका छन्।

सामाजिक सुरक्षा कोषले बुधबार एक कार्यक्रमको आयोजना गरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सुरक्षाको दायरामा समेटिएको घोषणा गरेको हो।

यसअघि कोषमा औपचारिक क्षेत्रका श्रमिकसँगै वैदेशिक रोजगारीमा गएका श्रमिकसमेत समेटिइसकेका छन्। अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गएको मंसिरमा नै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि ल्याएको थियो।

तर, तयारी नभएकाले त्यसको शुभारम्भ भने बुधबारदेखि गरिएको कोषले जनाएको छ। अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा समेट्न स्थानीय तहमार्फत सम्झौता गर्न सकिने व्यवस्था कार्यविधिमा छ। 

कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ।

यस्तै, स्वरोजगार व्यक्तिले कम्तीमा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत वा बढीमा त्यसको तीन गुणासम्मको रकम योगदान गर्नुपर्ने छ। कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाहिर नरहने बताए।

“सामाजिक सुरक्षा अभियानको योजनामा आजदेखि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिन पुगेका छन्,” प्रधानमन्त्री दाहालले भने, “त्यसैले आजको यो शुभारम्भले अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश दिएको छ।”