मर्जर तथा एक्विजिसनमा जाने संस्थाको सेयर कारोबार १५ दिन मात्र रोकिने

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जान सूचीकृत संस्थाको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने बताएको छ।

काठमाडौं– मर्जर तथा एक्विजिसनमा जान सूचीकृत संस्थाको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले बिहीबारदेखि ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागू गर्दै सो व्यवस्था गरेको हो।

"एकीकृत व्यावसायिक कारोबार गरेको मितिबाट गाभ्ने/गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतीकरण तथा सूचीकरण प्रयोजनाको लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्ने छ," निर्देशिकामा भनिएको छ।

यसअघि मर्जरमा गएका कम्पनीको सेयर रोक्नेबारे स्पष्ट व्यवस्था नहुँदा लामो समयससम्म कारोबार रोक्का हुने गरेको थियो। यो व्यवस्थापछि भने दोस्रो बजारमा सूचीकृत सबै संस्थाका लागि एकीकृत नीति कार्यान्वयनमा आएको हो। यसअघि बैंक तथा वित्तीय संस्थामा मात्र सेयर कारोबार रोक्का गर्नेबारे नीतिगत व्यवस्था थियो।