सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई, सेभिया टाइब्रेकरमा पराजित

गत सिजन तेहोरो उपाधि जितेको सिटी सुपर कपमा पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भएको हो। 

काठमाडौँ– यूईएफए सुपर कपको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ। 

टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो। 

ग्रिसको एथेन्समा बुधबार राति भएको फाइनलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। जसमा सिटीले बाजी मार्‍यो। 

टाइब्रेकरमा सिटीका लागि एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गरे। सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले मात्र गोल गर्न सफल भए। 

गत सिजन तेहोरो उपाधि जितेको सिटी यूईएफए सुपर कपमा पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भएको हो। च्याम्पियन्स लिग र युरोपा लिग विजेता टोलीबीच हरेक वर्ष यो प्रतियोगिता हुने गर्छ।

सेभिया भने सातपटक सुपर कपमा खेल्दा एक पटक मात्रै च्याम्पियन बनेको छ। सेभिया सन् २००६ मा सुपर कपको उपाधि जितेको थियो।