जमिन भासिन थालेपछि पहिरोको जोखिममा गोरखाको खानीगाउँ

बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि गाउँपालिकाले खानीगाउँवासीलाई अन्यत्र सर्न भनेको छ। यहाँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन्। 

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ खानीगाउँ पहिरोको जोखिममा छ।

पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्। बस्तीमाथिको जमिन चिराचिरा परेको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले बताइन्। जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ।

“२०७२ वैशाखमा गएको भूकम्पको असरले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो,” उपाध्यक्ष गुरुङले भनिन्, “केही दिनअघि परेको वर्षाले झन् जोखिमपूर्ण बनेको छ।” वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्री भागमा चिरा परेको छ। घरको जगसमेत तलतल सर्दै गएको छ। घरभित्र नै चिरा पर्न थालेपछि स्थानीय विस्थापित हुने अवस्थामा पुगेको उनले सुनाइन्। 

“पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ,” उनले भनिन्, “राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ।” पहिरोको त्रासले स्थानीयवासी साँझपख घरमा खाना खाएर ओढ्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका छन्। 

केही परिवार विद्यालयमा बास बस्न थालेका छन्। बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयलाई गाउँपालिकाले आग्रह गरेको छ।

पहिरोले खानीगाउँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन्।