नेवार समुदायले श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व मनाउँछन्। यस अवसरमा मनाइने केपु बाजाको पूजा गर्ने परम्परा भने लोप हुँदै गएको छ।
काठमाडौँ– मानव जीवनलाई राम्रो गर्ने नियम पालना गरेर मनाइने गुँला पर्व बिहीबार शुरू भएको छ। यो पर्व काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइन्छ।
नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने पर्व विधिवत् शुरू भएको हो। नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्यले बताए। यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ।

“यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ,” उनले भने। पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, काम मिथ्याचार नगर्ने अर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन्।
पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ। यसमा दुई कुरा थपेपछि दशशील हुन्छ। आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिए।
यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ। महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ। राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भिड लाग्छ। वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृंगभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन्।
काठमाडौँ महानगरपालिका– ७ चाबहिलका स्थानीय राजेन्द्र डंगोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउँछन्। चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ।

झरीले रोगव्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उनको अनुभव छ। यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ।
चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ। चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ।
ठमेलमा शतसहस्रिका प्रदर्शन गरिने
गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपंकर बुद्ध एवं अन्य बुद्धका सामग्री प्रदर्शन गरिन्छ। यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ।
ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ। गुरुजुबाट यसको पाठसमेत हुन्छ। यो महायान सम्प्रदायको ठूलो ग्रन्थ हो।

गौतम बुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गरेको प्रवचनमा आधारित भएर यो ग्रन्थ तयार पारिएको हो। बज्रयान सम्प्रदायको ग्रन्थ भने भगवान् गौतम बुद्धले भारतको महाराष्ट्रस्थित गुन्टुर जिल्लाको धान्यकरक पर्वतमा प्रवचन गरेका हुन्। यी दुवै स्थललाई हाल संरक्षित गरिएको छ।
गुँला पर्वको अन्तिम दिन अर्थात् भाद्र शुक्ल प्रतिपदामा विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ। यो पर्व सकिएपछि नेवार समुदायले इयँला महिना पनि विशेष रूपमा मनाउँछन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
