सेप्टीक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु

मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टीक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ। 

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेप्टीक ट्यांकमा परेर बुधबार राति जंगली हात्तीको मृत्यु भएको छ।

वडा नं ७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टीक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए। 

“राति १२ बजेपछि मृत्यु भएको देखिएको छ,” उनले भने, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का संकलन भइरहेको छ।”

बथानमा आएका जंगली हात्तीमध्ये मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने उनको भनाइ छ। “यसबारे थप अनुसन्धान भइरहेको छ,” प्रमुख संरक्षण अधिकृत मेहताले भने, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गर्छौं।”